नियम
सम्बन्धनको लागि निवेदन दिनु पर्ने

(१) ऐनको दफा ३ बमोजिम उच्च माध्यमिक शिक्षा दिने विद्यालयको रुपमा परिषद्सँग सम्बन्धन गर्न चाहने नेपाल सरकारबाट
स्वीकृत प्राप्त माध्यमिक विद्यालय, व्यक्ति वा संस्थाले परिषद्ले सार्वजनिक सूचनाद्वारा तोकिदिएको म्यादभित्र अनुसूची–१ बमोजिमको ढाँचामा परिषद् समक्ष निवेदन दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम निवेदन दिंदा त्यस्ता विद्यालय, व्यक्ति वा संस्थाले देहायका पूर्वाधार एवं शर्तहरु पूरा गरेको हुनु पर्नेछः–

(क) विद्यालयको पक्की भवन र कक्षा सञ्चालन गर्न उपयुक्त र पर्याप्त कोठाहरुको व्यवस्था भएको ।

(ख) उच्च माध्यमिक शिक्षाको लागि परिषद्बाट स्वीकृत पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक र अन्य सन्दर्भ पुस्तक तथा पत्रपत्रिका सहितको पुस्तकालयको व्यवस्था भएको ।

(ग) प्रयोगात्मक कक्षा संचालन गर्न आवश्यक हुने विषयको लागि आवश्यक उपकरण तथा सुविधायुक्त प्रयोगशालाको
व्यवस्था भएको ।

(घ) अतिरिक्त क्रियाकलापको लागि आवश्यक खेलकूद मैदान, खानेपानी तथा शौचालय आदिको उपयुक्त सुविधा भएको ।

(ङ) विद्यार्थी तथा शिक्षकका लागि पर्याप्त फर्निचरको व्यवस्था भएको ।

(च) परिषद्ले तोके अनुसारको शैक्षिक योग्यता पुगेका विषयगत शिक्षकहरुको व्यवस्था भएको ।

(छ) परिषद्ले निर्धारण गरे अनुसारको रकम विद्यालयको नाममा कुनै बैंकमा मुद्दती खातामा जम्मा गरेको प्रमाण संलग्न गरेको ।

(ज) नेपाल सरकारबाट स्वीकृत प्राप्त माध्यमिक विद्यालयको हकमा गत एक वर्षको प्रवेशिका परीक्षामा परिषद्ले निर्धारण गरे बमोजिमको प्रतिशतमा विद्यार्थी उत्तीर्ण गरेको ।

(झ) परिषद्ले समय समयमा निर्धारण गरेका अन्य आवश्यक शर्तहरु पूरा गरेको ।